अनलाइन बैंकिङ कारोबार नि:शुल्क, अत्यावश्यक बाहेक अन्यका लागि बैंक नजान आग्रह |

काठमाडौं । कोरोना भइरसको असरका कारण बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ नि:शुल्क गर्ने भएका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्त कम्पनी संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न विद्युतिय माध्यमबाट गरिने कारोबार नि:शुल्क गर्ने निर्णय गरेको हो।
बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमा हुने भिडभाडलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन कारोबारलाई बढी प्रोत्साहन गरेका हुन्।
शुक्रबार बसेको बैंकर्स सँघको बैठकले बैंकिङ सेवा अवरुद्ध नगर्ने, तर अनलाइन बैंकिङ सेवालाई प्रोत्साहन गर्ने उद्देश्यले त्यसका सबै शुल्कहरुलाई मिनाह गरिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए।
त्यसैगरी, एक बैंक तथा वित्तीय संस्थाको एटिएम कार्ड अन्य बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा समेत कुनै शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ।
सरकारले एकैपटकमा २५ जनाभन्दा धेरै जम्मा नहुन तथा अत्यावश्यक काम बाहेक आवतजावत र हिंडडुल नगर्न निर्देशन दिएकोले सोही निर्देशनअनुसार बैंकहरुले पनि अनलाईन कारोबारलाई प्रोत्साहन गर्दै भिडभाडलाई कम गर्ने प्रयास गरेका छन्।
त्यसैगरी, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएसबाट रकम ट्रान्सफर गर्दा समेत कुनै शुल्क नलाग्ने विज्ञप्तिमा उल्लेख छ।
अत्यावश्यक भन्दा बाहेकका कार्यको लागि बैंक नजान आग्रह
बैंक तथा वित्ती संस्थाको तिनवटै संघहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अत्यावश्यकभन्दा बाहेक अन्य कार्यको लागि बैंक तथा वित्तिय संस्थाको शाखा कार्यालय नजान आग्रह गरेका छन्।
मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पासवर्ड बिर्सिए सम्बन्धित शाखामा उपस्थित नभइ फोनमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।