भारतले पनि आइतबारदेखि विदेशबाट आउने हवाईजहाज बन्द गर्ने |
फैलिँदो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर भारत सरकारले आइतबारदेखि विदेशबाट भारत आउने सबै हवाईजहाज रोकेको छ।
सरकारले तत्काललाई एक हप्ताका लागि त्यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ। आउने दिनमा अवस्था हेरेर फेरि निर्णय गरिने जनाइएको छ। कतिपय विदेशी मुलुकबाट आउने भारतीय नागरिकहरूमा कोरोना भाइरस देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो।
यो निर्णयसँगै कम्तिमा मार्च २२ देखि सात दिनसम्म भारतमा भारतीय नागरिक वा विदेशी कोही पनि विदेशबाट हवाईमार्ग हुँदै आउन पाउने छैनन्।
भारतमा बिहीबारसम्म झन्डै दुई सय मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भइसकेको छ। आउने दिनमा भारतमा संक्रमणको गति तीव्र हुने अनुसन्धानकर्ताले बताएका छन्।
नेपाल सरकारले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी बिदेशबाट आउने धेरै जसो हवाइजहाज रोकेको छ।
युरोप, जापान, दक्षिण कोरियाका साथै सबै खाडी देशहरू कुवेत, कतार, ओमान, साउदी, युएइबाट आउने जहाज सरकारले शुक्रबार राति १२ बजेसम्म मात्र यात्रु ल्याउन अनुमति दिएको छ।