विदेशमा रहेका नेपालीलाई बाटो खुल्ने बेलासम्म कुर्न सरकारको आग्रह |
काठमाडौं । विदेशमा रहेका नेपालीलाई सरकारले बाटो खुलेपछि मात्र आउन सुझाएको छ । सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको हकमा पनि अहिलेलाई बाटो बन्द भएको बताए ।
'विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहिर निस्कन मिल्दैन', बिडारीले भने, 'जहाँ भए पनि त्यहिँ उपचार हुन्छ।'
उनले अहिलेका लागि सरकारले युरोपियन मुलुक र खाडीका मुलुकसहित जापान, कोरिया, टर्की र मलेसियाबाट कोही पनि शुक्रबार बेलुकाबाट नेपाल आउन नमिल्ने बताए।
'ती देशबाट सोझै आउने र अरु देशबाट ट्रान्जिट हुँदै आउने सबैलाई ट्राभल रेस्ट्रिक्सन छ', उनले भने, 'अहिले यसलाई यही रूपमा लिनुपर्छ। १२ अप्रिलसम्म उहाँहरू आउन पाउनु हुन्न। प्रष्ट हुनुस् ।'
उनले सरकारले आवश्यकता अनुसार देशहरूको विषयमा निर्णय लिने जानकारी दिए ।
पहिला पाँच देशबाट प्रतिबन्ध गरिएकोमा अहिले आधा विश्व प्रतिबन्धमा रहेको उनको बताए ।
उनले ट्रान्जिट रोकिएका कारण अमेरिकाबाट नेपाल आउन रोकिने बताए ।
'अवस्था परिवर्तन हुन्छ', बिडारीले भने, 'अहिले त्यहीँ बस्नुस्, स्वास्थ्य लाभ गर्नुस् । बाटो खुलेपछि आउनुस् ।'
उनले संक्रमितलाई एयरपोर्टमा स्क्रिनिङ हुने बताए ।
पाँच सय जना जतिमा परीक्षण गर्दा पनि नेपालमा अहिलेसम्म कोरोना नदेखिएको उनले उल्लेख गरे ।