चीनको वुहान क्षेत्रमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु | बितेको २४ घण्टामा विश्वभर ९ सय ७५ मानिसको मृत्यु
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ ।
मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।
गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । हुवेई प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार वुहानका कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाएको छ ।
चीनले मृत्युदर पनि शून्यमा झारेको छ । वर्ल्डओमिटर्सका अनुसार, बुधबार चीनमा संक्रमित कसैको पनि मृत्यु भएको छैन ।
कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।
कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।
बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।
योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।
बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।
स्पेनमा २४ घण्टामा १०५ र इरानमा १०७ जनाको मृत्यु
स्पेनमा बितेको बितेको २४ घण्टामा १ सय ५ जना मानिसको ज्यान गएको छ । योसँगै स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३८ पुगेको छ ।
कोरोनाको प्रकोप फ्रान्समा पनि फैलँदो क्रममा छ । बुधबार मात्रै यहाँ ८९ भन्दा बढी मानिसको ज्यान गएको छ । कुल मृत्युदर २६४ पुगेको फ्रान्समा ९ हजार १ सय ३४ संक्रमित छन् ।
उता, मध्यपूर्वको देश इरानमा पनि कोरोना टाउको दुखाइको विषय बनेको छ । त्यहाँ बुधबारमात्रै १ सय ७ मानिसको ज्यान गएको छ ।
कोरोनाबाट बितेको २४ घण्टामा विश्वभर ९ सय ७५ मानिसको ज्यान गएको छ भने २ लाखभन्दा बढी मानिसमा यसको लक्षण देखिएको छ । यीमध्ये ८० प्रतिशत युरोप र पूर्वीय प्रशान्त क्षेत्रका छन् ।