एसईई परीक्षा स्थगित, विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय |
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । परीक्षा शुरु हुने अघिल्लो दिन साँझ मात्र सरकारले स्थगितको निर्णय गरेको हो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
एसईई परीक्षा भोली चैत ६ गतेदेखि तोकिएको थियो ।
विश्वविद्यालयका सबै परीक्षा स्थगित
सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।
यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।
किन एकाएक स्थगित भयो परीक्षा ?
कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।