युरोप कारोनाभाइरसको केन्द्रविन्दु : एकै दिन ज्यान गुमाउनको सङ्ख्या अहिलेसम्मकै उच्च |
काठमाडौं । तीन युरोपेली मुलुक इटाली, स्पेन र फ्रान्समा एकैदिन कोरोनाभाइरसको संक्रमणबाट मर्नेको उच्च संख्या मापन भएको छ ।स्पेनमा एकैदिन ३६८ जनाले ज्यान गुमाउँदा, स्पेन र फ्रान्समा क्रमशः ९७ र २९ जनाको ज्यान गएको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
योसँगै कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ भने स्पेनमा २८८ र फ्रान्समा १२० पुगेको छ ।
यसैगरी बेलायतमा एकै दिनमा कोरोनाभाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ। बेलायतमा एकैदिन यसबाट १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार स्विजरल्याण्ड संक्रमितको संख्या ८ सयबाट बढेर २४ घण्टामा २२ सय पुगेको छ। त्यहाँ हालसम्म १४ जनाको ज्यान गइसकेको छ ।
यस्तै संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा संक्रमितको संख्या २४ हजार ७ सय ४७ पुगेको छ भने स्पेनमा यो संख्या ७ हजार ७ सय ५३ र फ्रान्समा ५ हजार ४ पुगेको छ ।
चीनपछि पछिल्लो समय कोरोनाभाइरसबाट युरोपेली मुलुकहरू आक्रान्त बनिरहेका छन् ।
यसको रोकथामका लागि उनीहरूले कडा उपायहरू अपनाइरहेका छन् ।
यसै अन्तरगत जर्मनीले फ्रान्स, स्वीटजरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लक्जेम्वर्गसँगका आफ्ना सीमानाकाहरूमा थप कडाइ गर्ने भएको छ भने पोर्चुगलले पनि स्पेनसँगको आफ्नो सीमा थप कडाइ गर्ने भएको छ ।
कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै हाल युरोपभरका विद्यालयहरू बन्द गरिएका छन् । यस्तै अष्ट्रियाले पाँच भन्दा बढी व्यक्तीहरूलाई एकसाथ जमघट गर्न रोक लगाएको छ ।
कोरोनाभाइरसको सम्बन्धी पछिल्लो विश्व विवरण अनुसार संसारभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६२ हजार ६ सय ८७ पुगेको छ जसमा आधा संख्या चीनको(८१,००३) को रहेको छ भने ६ हजार ६५ जनाको ज्यान गएको छ ।