२४ घण्टामा बेलायतमा ज्यान गुमाउनेको संख्या दोब्बर |
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा बितेका २४ घण्टामा थप १० व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।
बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ सय ४० पुगेको छ ।
संक्रमित र मृतकको बढ्दो संख्यालाई ध्यानमा राख्दै बेलायती सरकारले बेलायती कम्पनीहरूलाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको उत्पादनमा वृद्धि गर्ने लक्ष्य दिएको छ ।
उत्पादकहरूसँग सोमबार कन्फ्ररेसन गर्दै बेलायती प्रधानमन्त्रीले उनीहरूलाई संक्रमणको नियन्त्रण र रोकथामको राष्ट्रिय प्रयास जोडिन आग्रह गरेका थिए ।
यसैगरी कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ। यो रोक सोमबार मध्यरातबाट लागु हुने अमेरिकाले जनाएको छ ।
गत साता अमेरिकाले युरोपका अन्य मुलुकहरूबाट आफ्नो देशमा हुने हवाइ आवागमन रोक्ने निर्णय गरेको थियो ।