कोरोना भाइरस ː अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा | अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ː राष्ट्रपति ट्रम्प
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ ।
’म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु’, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने।
राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने घोषणा गरे ।
सम्बोधनमा ट्रम्पले कोरोना भाइरसको परीक्षण क्षमतालाई ठूलो मात्रामा वृद्धि गर्ने बताए ।
यसैगरी उनले आवश्यक्ता हेरेर मात्र अमेरिकी नागरिकहरूलाई कोरोना भाइरसको संक्रमण परीक्षण गर्न लगाइने बताएका छन् ।
ट्रम्पले कोरना भाइरस परीक्षण सम्बन्धी विस्तृत योजनाहरूका बारेमा आइतबार जानकारी दिने बताए ।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ५ हजार बढीको ज्यान गइसकेको छ भने एक लाख ४० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ ।