सबै गन्तव्य मुलुकहरुमा अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का | विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने

काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो ।
कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहिबार (फागुन २९ गते) अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेसँगै कार्यालयबाट जारी हुने श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको जनाएको छ ।
यसअघि नै नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारले नेपाल लगायत ८ मुलुकका कामदार नलिने घोषण गरिसकेको छ ।
त्यस्तै सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने निर्णय गरेको छ।
दैनिक २ सय नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर लिँदै आएका छन्। शिक्षा मन्त्रालयले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर अनिवार्य गरेको छ ।