१० महिनालाई पुग्ने नुन र ५ महिनालाई पुग्ने चिनी छः साल्ट ट्रेडिङ |
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी नुन र ५ महिनासम्म माग धान्नसक्ने चिनी भण्डारण रहेको बताएकाे छ।
हल्लाको भरमा उपभोग्य बस्तुको कालोबजारी हुन थालेपछि कर्पोरेशनले उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो।
बजारको हल्ला निराधार रहेको भन्दै करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको कर्पोरेशनका सिईओ उर्मिला श्रेष्ठले जानकारी दिईन्।
कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात छ।
‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ’, उनले भनिन् ’नुनको कुनै अभाव छैन।’ अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ।’
त्यस्तै हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा रहेको र सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा रहेको कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिए।
उनले करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेकोले अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तालाई आग्रह गरे।
कर्पोरेशनले नून, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ