नेपाल पूनर्बीमाको डेढ अर्बभन्दा बढीको आईपीओ चैत ४ गतेदेखि |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ ।
गत आर्थिक वर्षको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ २ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा कायम हुने प्रक्षेपण गरेको छ।