यस्तो छ कथामा नेपाल जोडेको अक्षय स्टारर्र सूर्यवंशी’को ट्रेलर ? |
काठमाडौं । सोमबार बलिउड अभिनेता अक्षय कुमार स्टारर्र सूर्यवंशी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा अक्षयकुमार आतंकवादीबाट मुम्बईलाई बचाउने अभियानमा छन् । झण्डै चार मिनेट १५ सेकेण्ड लामो ट्रेलरले सिनेमा एक्सनमय भएको देखाएको छ ।
ट्रेलरमा ’सिघंम’ बनेका अजय देवगन र ’सिम्बा’ बनेका रणवीर सिंह पनि फिचर भएका छन् ।
समग्रमा सिनेमाको ट्रेलरमा खासै नयाँ केही छैन । मुम्बई, आतंकवाद, मुम्बई पुलिस, भारतीय मुसलमानको भारतीय परिभाषालाई ट्रेलरमा प्रमुखता दिइएको छ ।
त्यसैगरी सार्वजनिक ट्रेलरले सिनेमाको कथा नेपालसँग पनि जोडिएको संकेत गरेको छ । ट्रेलरको सुरुवात र अन्त्यमा नेपाल प्रहरीको वाकीट्वाकी भाषाको प्रयोग गरेको छ । ट्रेलरको सुरू र अन्त्यमा नेपाली संवाद सुनिन्छ ।
ट्रेलरको ४ मिनेट पाँच सेकेण्डर्मा हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है’ भन्ने नेपाली संवाद सुन्न सकिन्छ ।
ट्रेलरमा राखिएको यो संवादले कतै यो सिनेमाले यसअघिका भारतीय सिनेमाले जस्तै ’नेपाल आतंकवादीहरूको सुरक्षित आश्रयस्थल त हो’ भनेर चित्रित त गरेको छैन ? भनेर शंका गर्ने आधार खडा गरेको छ ।
यसअघि नेपालमै छायाँकन गरिएका अक्षयकुमार अभिनित ’बेबी’ र अर्जुन कपुर अभिनित ’ईन्डियाज मोस्ट वान्टेड’ले नेपाल आतंकवादीको आश्रयस्थलका रुपमा पेस गरेको थियो ।
दुबै सिनेमामा आतंकवादीलाई नेपालबाट समातेर लगिएको देखाइएको थियो ।
पटकपटक बलिउड सिनेमाले गर्ने नेपालको यस्तो चित्रणले नकारात्मक संदेश जाने सरोकारवालाहरूले बताउँदै आएका छन् ।
जसका कारण विवाद हुने डरले नेपालमा हिन्दी सिनेमाको वितरण गर्दै आएका नेपाली कम्पनीले ’इण्डियाज मोस्ट वान्टेड’ सिनेमा नेपाल ल्याएका थिएनन् ।
सिनेमामा यासिन भट्कललाई नेपाल भित्रबाट भारत लगिएको देखाइएको थियो । सो सिनेमाको अधिकांश सुटिङ काठमाडौं र पोखरामा भएको थियो ।
’सूर्यवंशी’मा भने नेपाललाई बढो चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । यसमा उनीहरूले नेपाल प्रहरीको आवाजमात्र राखेका छन् ।
यस कारणले गर्दा सिनेमामा नेपाललाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा नेपाली सेन्सरमा ’सूर्यवंशी’ आएपछि मात्र थाहा हुनेछ ।
रोहित शेट्टी निर्दे्शित सिनेमा मार्च २४ अर्थात चैत ११ गते रिलिज हुँदैछ ।