औषधीको अभाव हुन दिँदैनौँ ː औषधी उत्पादक संघ |
काठमाडौँ । नेपाल औषधी उत्पादक संघले ७५ प्रतिशत औषधीको माग पूरा गर्न सक्षम रहेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल मुलुकमा ६२ वटा उद्योग सञ्चालनमा रहेको र ती उद्योगले ७५ प्रतिशत औषधीको माग पूरा गर्ने भएकाले आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।
भारतले विभिन्न २६ वटा औषधी उत्पादन र कच्चा पदार्थमा रोक लगाए पनि नेपालमा उत्पादन हुने कुनै पनि औषधीको उत्पादनमा त्यसले फरक नपर्ने संघको भनाइ छ ।
औषधी उत्पादनका लागि व्यापारिक दृष्टिकोणले भारत र चीन सरल भएका कारण ती मुलुकबाट कच्चा पदार्थ खरिद गर्दै आएको जनाउँदै संघले जुनसूकै मुलुकबाट कच्चा पदार्थ खरिद गर्न आफूहरु स्वतन्त्र भएका कारण कच्चा पदार्थको अभाव नहुने पनि प्रष्ट पारेको छ ।
सरकारले विपदमा मात्र औषधीको महत्व बुझ्ने गरेको आरोप लगाउँदै संघले देशलाई औषधीमा आत्मनिर्भर बनाउनुपर्नेमा यो परिस्थितिले सबैमा सचेतना बढोस् भन्ने कामना समेत गरेको छ ।
हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधीमा विदेशी कम्पनीलाई अनुनय विनय र आग्रह गर्नुपर्ने अवस्था नरहेको संघले प्रष्ट पारेको छ । निजी औषधी उद्योगसँग सरकारले सहकार्य र सहयोग गरेमात्र पनि समस्या समाधान हुने संघको विश्वास छ ।
संघले नेपालमा उत्पादन हुन सक्ने कुनै पनि औषधी अभाव हुन नदिने दावी गरेको छ । संघले नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधी पु¥याउन तत्पर र सक्षम रहेको प्रष्ट पार्दै विषम परिस्थितिमा सचेत भइ बजारलाई अनावश्यक उत्तेजित हुन नदिन आग्रहसमेत गरेको छ ।