ट्राफिक प्रहरीले श्वास सुँघेर मापसे नजाँच्ने |

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ड्युटीमा खटिने प्रहरीलाई श्वास सुँघेर मापसे नजाँच्न सुझाव दिएको छ।
संसारभर कोरोना भइरसको संक्रमण बढेकोले जोखिमबाट जोगिन मापसे परीक्षण गर्दा ब्रेथलाइजर मात्र प्रयोग गर्न सुझाव दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए।
‘निर्देशन त भन्न मिलेन तर हामीले स्टाफहरूलाई मुखामुख गरेर मापसे नजाँच्नुस भनेका छौं,’ ढकालले भने।
महाशाखासगँ हाल ७२ ओटा ब्रेथलाइजर संचालनमा रहेको र थप २० वोटाको लागि प्रकृया अघि बढाउन लागिएको उनले बताए।
‘हालको लागि हामीसगँ भएको ब्रेथलाइजर लगभग पुग्छ। भइपरी आउने समस्याको लागि थप मगाएका हौं। कोरोना भाइरसकै कारणले मापसे जाँच प्रभावित भएको छैन,’ ढकालले भने ।