प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण आज | नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गौला दान गर्ने्छिन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपणअघि अस्पतालमा प्रधानमन्त्री ओलीका परिवारका सदस्य, मन्त्रिपरिषद्का सदस्यहरु भेट्नका लागि पुगेका छन् ।
नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै शल्यक्रिया सफल
यसअघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल भएको छ । नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो । ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो ।
देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ । नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् ।
डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ‘प्रधानमन्त्री केपी ओली ११औँ नम्बरमा पर्नुभएको छ,’ उनले भने । यसअघि प्रत्यारोपण गरिएका सबै सामान्य ढंगले जीवनयापन गरिरहेको उनले बताए ।
चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए ।