ई-पासपोर्ट छपाईका लागि ग्लोबल टेण्डर आह्वान |
काठमाडौं । सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ) स्थापना गर्ने प्रक्रिया अन्यौलमा परेपछि सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइका लागि टेन्डर आह्वान गरेको छ ।
सञ्चार मन्त्रालयले सेक्युरेटी प्रिन्टिङ खरिद प्रक्रिया अगाडि बढाएपछि ई–पासपोर्ट छपाइका लागि गरिएको ग्लोबल टेण्डर रद्द गरिएको थियो । मन्त्रालयले विभिन्न सरकारी निकायलाई पत्र लेख्दै मुद्रण छपाइ र त्यसका लागि आवश्यक मेसिनको खरिद प्रक्रिया अघि नबढाउन भनेको थियो ।
तर सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद नहुँदै तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनु परेको थियो ।
सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए । संसदको सार्वजनिक लेखा समितिले खरिद प्रक्रिया रोक्न भनेपछि सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अन्यौलमा परेको छ ।
तर सरकारसँग भएको पासपोर्ट पनि सकिँदैछ । त्यसैले राहदानी विभागले सोमाबार ई–पासपोर्ट छपाइका लागि ग्लोबर टेन्डर आह्वान गरेको छ । २० लाख प्रति ई–पासपोर्ट छपाइका लागि ग्लोबल टेण्डर आह्वान गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि १० भदौमा राहदानी विभागले टेन्डर गरेको थियो । तर बोलपत्र खोल्नुभन्दा एकदिन अघि २१ कात्तिकमा सुरक्षण मुद्रण स्थापना भइहाल्ने भनेर सञ्चार मन्त्रालयले गरेको ब्रिफिङका आधारमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले बोलपत्र खोल्न मौखिक आदेशमार्फत रोकेका थिए ।
सोमबार निकालिएको ग्लोबल टेण्डरअनुसार अब ४५ दिनभित्र इच्छुक कम्पनीले टेन्डरका लागि दरखास्त दिन सक्नेछन् ।