प्रधानमन्त्री ओलीलाई भान्जीले दिने भइन् मिर्गौला |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन् । त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन् । गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन ।
यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन् ।
अहिले मिर्गौला दिन लागेकी भान्जीको उमेर खुलाइएको छैन ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन् । आउने बुधबार उनको मिर्गौला प्रत्यारोपण हुने छ । यसबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए ।
गत साता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने बताएका थिए ।
‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘अझै १०–१५ वर्ष मलाई केही हुन्न ।’
उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७∕१८ घन्टा काम गर्ने गरेको दाबी गरे ।
‘म १७(१८ घन्टा काम गर्छु । बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने ।