कोरोना भाइरसले विश्व सेयर बजारमा ५० खर्ब डलरको क्षति | युरोपका बजार ३ देखि ५ प्रतिशतले घटे
कोरोना भाइरसको त्रासले शुक्रबार तीव्र गतिमा ओरालो लागेपछि विश्वभरका सेयर बजारले २००८ को वित्तीय संकटपछिकै ठूलो क्षति बेहोरेका छन् । पछिल्लो एक सातामा बजारले ५० खर्ब डलर बराबरको सम्पत्ति गुमाएको छ ।
युरोपका बजार ३ देखि ५ प्रतिशतले घटेका छन् । संसारमै सुरक्षित मानिएको अमेरिकी सरकारको ऋणपत्रको मूल्य घटेर पछिल्लो समयको न्यून विन्दुमा आएको छ । चीनबाट शुरू कोरोना भाइरस महिनाभरमै नियन्त्रणमा आउनेछ र आर्थिक गतिविधि पुनः सञ्चालन हुन्छ भन्ने अनुमान गलत साबित भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ ।
अर्को महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर घटाउने र अरू बैंकले पनि त्यसलाई पछ्याउने अनुमान छ । पहिले पनि फेडरल रिजर्भले ब्याज घटाएपछि युरोपेली र अरू केन्द्रीय बैंकले ब्याज घटाउँथे ।
’अहिले लगानीकर्ता संकट अझै गहिँरिदै गए के होला भन्ने हिसाबले लगानी गरिरहेका छन्,’ एसइआइ इन्भेस्टमेन्टका एसिया प्रमुख जोन लाउले भने, ’अहिले सबभन्दा अनिश्चय समय हो । कसैलाई थाहा छैन भोलि के हुन्छ । त्यसैले सबै आत्तिएका छन् ।’
अन्तर्रा्ष्ट्रिय यातायात र आपूर्ति व्यवस्था बिथोलिएको छ, स्कुल–कलेज बन्द गरिएका छन् भने ठूला अन्तर्रा्ष्ट्रिय सम्मेलन स्थगित छन्। अमेरिका(चीनको व्यापार युद्धले विश्व अर्थतन्त्र यसै पनि अप्ठ्यारो अवस्थामा थियो ।
झन्डै ५० ठूला देशका सेयर बजार कारोबार मापन गर्ने एमएससिआई परिसूचक शुक्रबार एक प्रतिशतले घटेको छ । वाल स्ट्रिटका ठूला कम्पनीको सेयर मूल्य बिहीबार मात्रै ४.४ प्रतिशत घटेको छ ।
युरोपका वायुसेवा तथा ट्राभल कम्पनीको सेयर मूल्य एक सातामा १८ प्रतिशत घटेको छ । जापानबाहेक प्रमुख एसियाली सेयर बजारमा २.६ प्रतिशत गिरावट आएको छ भने जापानी सेयर बजार परिसूचक निक्की ३.७ प्रतिशत ओरालो लागेको छ । जापानमा हुने भनिएको ओलम्पिक खेल पनि स्थगित हुने चर्चा चुलिएको छ ।
चीनको सांघाई र सेन्जेन स्टक एक्सचेन्जका परिसूचक क्रमशː ३.५ प्रतिशत र ५ प्रतिशत घटेका छन् । कच्चा तेलको मूल्य साताभरमा १२ प्रतिशत घटेको छ भने धातुको मूल्य पनि कम भएको छ ।
’अहिले कोरोना भाइरस महामारी हो भन्ने पुष्टि भएको छ । यो कहाँ गएर नियन्त्रणमा आउँछ भन्ने टुंगो नहुञ्जेल सेयर बजारमा जोखिम उठाउने कुरा हुँदैन,’ मित्सुबिसी युएफजे मोर्गान स्टान्ली सेक्युरिटिजका प्रमुख लगानी रणनीतिकार नोरिहिरो फुजितोले भने ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेर्डोस अधनोमले जर्मनी, फ्रान्स लगायत प्रमुख विकसित अर्थतन्त्रमा पनि कोरोनाको प्रभाव देखिएकाले यसले ठूलै महामारीको रूप लिनसक्ने बताएका छन् ।
पछिल्लो २४ घन्टामा नाइजेरिया लगायत १० अफ्रिकी मुलुकमा कोरोना भाइरस पुगेको छ ।
(रोयटर्सबाट)