अमेरिका र तालिबानबीच शान्ति सम्झौता, अफगानिस्तानको १८ वर्ष लामो द्वन्द्व अन्त्य |
अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी हिंसात्मक द्वन्द्व अन्त्य गर्न अमेरिका र तालिबानबीच शनिबार शान्ति सम्झौता हस्ताक्षर भएको छ ।
अमेरिका र अफगानिस्तान सरकारले जारी गरेको संयुक्त वक्तव्यअनुसार तालिबानले सम्झौता पालना गरेको खण्डमा आगामी १४ महिनाभित्र अफगानिस्तानमा रहेका अमेरिकी तथा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सैनिक फिर्ता हुनेछन् ।
कतारको दोहामा भएको समारोहमा अमेरिकी विशेष दूत जाल्मे खालिलजाद र तालिबानी नेता मुल्ला अब्दुल घानीले शान्ति सम्झौता हस्ताक्षर गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाले बिबिसीले लेखेको छ । बिबिसीका अनुसार, समारोहमा अमेरिकी विदेशसचिव माइक पम्पियो र तालिबानी नेताहरू उपस्थित थिए ।
यो शान्ति सम्झौतापछि अब अफगानिस्तान सरकार र तालिबानबीच थप वार्ता हुनेछ ।
दोहामा भएको सम्झौताअनुसार तालिबानले आफ्नो इलाकामा अल–कायदा लगायत अन्य कुनै पनि उग्रवादी समूहलाई गतिविधि सञ्चालन गर्न नदिने सहमति जनाएको छ ।
सन् २००१ सेप्टेम्बरमा अल(कायदाले अमेरिकामाथि आतंकवादी हमला गरेपछि अमेरिकी र नाटो सेना अफगानिस्तान प्रवेश गरेको थियो ।
यसबीच अफगानिस्तानमा भएको द्वन्द्व क्रममा २ हजार ४ सयभन्दा बढी अमेरिकी सैनिकको मृत्यु भएको छ । अहिले अफगानिस्तानमा १३ हजारभन्दा बढी अमेरिकी तथा नाटो सैनिक छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व अन्त्य गर्ने बाचा गरेका थिए ।
अर्को समाचार संस्था रायटर्सका अनुसार, यो सम्झौतापछि अमेरिकी तथा अफगानिस्तान सरकारले आगामी मार्च १० भित्र ५ हजारभन्दा बढी बन्दी मुक्त गर्नेछन् । अफगान तालिबानले पनि करिब हजार जना बन्दी मुक्त गर्नेछन् ।
पहिलो चरणमा १३५ दिनभित्र विभिन्न पाँचवटा क्याम्पबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता जाने रायटर्सले जनाएको छ ।