जनकपुर–जयनगर चल्ने रेल चैत १८मा नेपाल आइपुग्दै |
काठमाडौं । कुर्था–जनकपुर–जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा निर्माणाधीन छन् ।
रेल विभागमा माहानिर्देशक बलराम मिश्रले चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको बताए ।
रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् ।
यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।
विभागका महानिर्देशक मिश्र रेल नेपाल ल्याएको केही महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चल्न शुरु गर्छ भन्ने तय नभएको उनले बताए ।
सरकारले गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेको थियो । अब भने सरकारले आगामी असार अगावै जसरी पनि रेल चलाउने योजना बनाएको छ ।
अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । बितेको वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको छ ।
कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट यसको सुरुवात भएको थियो । यसै कारण जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।
ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम गत वर्ष नै सकिएको थियो । स्टेसनहरु बनेका छन् । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ ।
भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाएको छ ।
रेल्वे कम्पनीलाई जिम्मा
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ ।
यसअघि पनि जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।
विभागले पहिलो चरणमा २६ जना कर्मचारी मागेर सूचना निकालिसकेको छ । महानिर्देशक मिश्रले दोस्रो चरण्मा पनि थप कर्मचारीका लागि सूचना निकल्न तयारी भइरहेको बताए ।
नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउयन लागिएको हो ।