महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरे ।
आफू महासंघको गौरवलाई थप उचाइमा पुर्याआउने तथा निजी क्षेत्रको महत्वलाई नीति निर्माणमा स्थापित गर्न तत्पर रहने उनले बताए ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछ। यसैले आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वा्चित भए ढकाल २०७९ चैतमा महासंघको अध्यक्ष स्वतः निर्वा्चित हुनेछन् ।
तीन वर्षअघिको निर्वाचनमा महासंघको एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वा्चित ढकालले वरिष्ठ उपाध्यक्षका देशभरका व्यवसायीहरुको समर्थन रहेको दाबी गरे ।
‘महासंघमा आवद्ध भएपछि देशभरकै कार्यक्रममा घुम्ने अवसर पाएँ । त्यस अवसरमा भेट भएका सबैले नेतृत्वमा जान अनुरोध गर्नु भएको छ,’ उनले भने, ‘कतिपय ठाउँमा स्वतस्फूर्त वरिष्ठ उपाध्यक्षका रुपमा उम्मेद्वारी घोषणा गरिदिनुभयो। त्यही सुझावलाई मनन गर्दै औपचारिकरुपमै वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’
महासंघलाई व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्योगलाई प्रबर्द्धन गर्ने पैरवी संस्थाका रुपमा अघि बढाउने उनले प्रतिबध्दता व्यक्त गरे।
बागलुङको अमलाचौरमा विं.सं. २०२२ मा जन्मिएका ढकालले कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका थिए ।
ढकाल हाल वित्तीय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायत क्षेत्रमा छाएका छन् ।
ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्द्धक हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन्। उनी यसअघि पनि वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए।