सात महिनामा ३३ लाख मोबाइल सेट भित्रियो |
काठमाडौं । चालू आर्थिक वर्ष २०७६∕०७७ को ७ महिनामा मोबाइल आयात बढेको छ । सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन् ।
‘पहिला भन्सार दर ५ प्रतिशत थियो । चालू आवबाट २.५ झरेको छ । यसले आयात बढाएको छ’, उनले भने, ‘बैङ्कले लोन नदिएकाले अझ नयाँ ब्राण्ड भने भित्रिन सकेका छैनन् ।’
चालू आवको साउनदेखि माघसम्म विभिन्न देशबाट ३३ लाख मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै १४ अर्ब बाहिरिएको छ । यो गत वर्षको सोही अवधीको तुलनामा ३० प्रतिशतले बढी हो ।
गत साउनदेखि माघसम्म २६ लाख ३५ हजार मोबाइल सेट नेपाली बजारमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट ११ अर्ब भन्दा बढी बाहिरीयो ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ । ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने विभागको तथ्याङ्क छ । सञ्चारको सहज माध्यम मोबाइलको आयात बढ्नु स्वभाविक हो ।
मोबाइलले विश्वमै राम्रो बजार पाइरहेको छ । पछिल्लो समय मोबाइल प्रयोगकर्ता पनि बढ्दै गएका छन्। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ ।
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ । सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ । त्यसको तथ्याङ्क विभागमा उपलब्ध नभएको विभागले बताएको छ ।