४ अर्वले गाडीको आयात घट्यो |
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष सवारी साधनको आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५∕७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले ह्रास आएको हो ।
गत आर्थिक वर्षमा ५६ अर्व ९८ करोड ११ लाख ३६ हजारको सवारी साधन आयात भएकोमा चालू आर्थिक वर्षमा ५२ अर्व ३४ करोड ७४ लाख ७९ हजारको मात्र आयात भएको छ ।
सरकारको नीतिको कारण सवारी आयात र राजश्वमा गिरावट आएको नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष ध्रुव थापाको दाबी छ ।
‘सरकारको सवारी साधन खरिद गर्दा ५० प्रति डाउन पेमेन्ट गर्नुपर्ने नीतिले पहिलो समस्या आएको हो । त्यस्तै गाडी खरिद गर्दा ग्राहकले ट्याक्स क्ल्येरेन्स सर्टि्फिकेट देखाउनुपर्ने बाध्यताले सवारी साधन आयातमा ह्रास आयो,’ थापाले भने ।
गाडी खरिद गर्दा किस्ता रकम कमाइको ५० प्रतिशत भन्दा धेरै हुननहुने नीतीले सवारी साधन व्यवसाय थप निराशाजनक भएको उनले बताए ।
‘अहिले कुनैपनि व्यवसाय फस्टाउन सकेको छैन । सवारी साधन व्यवसायमा गिरावट आउनु पनि यस्तै कुराहरुको ‘चेन इफेक्ट’ हो,’ थापाले भने ।