काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबारको कारोबारमा नयाँ रेकर्ड बनेपछि अनलाइन कारोबारलाई श्रेय दिएको छ । शेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको भन्दै नेप्सेले अनलाइन शेयर कारोबार प्रणालीलाई श्रेय दिएको हो ।
नेप्सेले जारी गरेको विज्ञप्ती अनुसार गत कार्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा संचालन आएपछि क्रमिक रुपमा कारोबार गतिविधि बढेको छ ।
नेप्सेको शेयर कारोबार प्रणलीमा सिडिएससी तथा एनसिएचएलको प्रणालीमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गर्न/गराउन सकिने भएपछि लगानीकर्ता सहभागी हुन सहज महशुस गरेको नेप्सेको विश्वास छ ।
पछिल्लो सात कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई अर्थात ३३ प्रतिशत कारोबार हुन थालेको छ । माघ सम्मको तथ्यांक अनुसार दैनिक औषत कारोबार रकम एक अर्ब ४२ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गत वर्ष यही अवधिमा यस्तो औसत कारोबार ३० करोडमा सीमित थियो ।