मास्क उत्पादन गर्न चीनले छ दिनभित्र फ्याक्ट्री बनाउने |
चीनले कोरोनाभाइरसबाट उत्पन्न बढ्दो मास्कको माग पूर्ति गर्न छ दिनभित्र फ्याक्ट्री बनाउने भएको छ ।
चाइना कन्स्ट्रक्सन फिस्ट ग्रुपले औद्योगिक भवनलाई छ दिनभित्र नयाँ मास्क फ्याक्ट्रीमा बदल्न लागेको हो। उक्त समूहले दैनिक दुई लाख ५० हजार मास्क बनाउने बताइएको छ ।
सोमबार सुरू गरिएको निर्माणको काम शनिबार सम्पन्न हुनेछ । प्रोजेक्ट व्यवस्थापक सङ चावका अनुसार कामदारलाई सम्भावित सङ्क्रमणबाट जोगाउन दैनिक तापक्रम नाप्ने र लक्षण देखिएका कामदारलाई वस्तीबाट टाढा बास बस्ने व्यवस्था गरिएको छ ।
कोरोनाभाइरसको महामारीसँग लडिरहेको चीनमा चिकित्साकर्मी, कामदार, रोग नियन्त्रक तथा आम नागरिकले मास्कको ठूलो माग गरेका छन् ।
चिनियाँ सरकारले चिकित्सा उत्पादन आपूर्ति बढाउन उत्पादकलाई प्रोत्साहन गरिरहेको छ ।