उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुमा नेपालः प्रधानमन्त्री | प्रतिदिन छ किलोमिटरका दरले सडक कालोपत्र
काठमाडौँ । नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपाल अलि गरिब छ, अलि पछाडि छ, त्यसकारण त्यस्तो लाग्दैन’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर पछाडि छ र पनि यो १० वटा तीब्र आर्थिक विकास गरिरहेका देशहरु मध्ये परेको छ र यसले विकास गर्न सक्छ ।
प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछिको १ दशकसम्म आर्थिक वृद्धिद्धर ४ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो तीन वर्षयता आर्थिक बृद्धिदर ६.५ प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्दै बिगत तीन वर्षदेखि प्रदेशको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत भन्दा न्यून नभएको बताए ।
यस्तै प्रतिव्यक्ति आय १८ प्रतिशतभन्दा माथि रहेको पनि ओलीले बताए । आर्थिक बृद्धिदरमा आएको सुधारसँगै १.५ बिन्दुले गरिबी घटेको उल्लेख गर्दै ओलीले अब सरकार गरिबी निवारणमात्रै होइन उन्मुलन नै गर्नेगरी अघि बढेको बताए ।
सरकारको कामले जनतामा ‘इम्प्रेसन’ बढायो
शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन, गफ गरेर हुन्छ? भन्नेहरूप्रति कटाक्ष गरेका छन् ।
‘सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनु पर्यो । तथ्यरआँकडा प्रस्तुत हुन पर्योर भन्ने सुन्थें,’ उनले भने, ‘परिवेश अहिले बदलिएको देखियो । थेगोजस्तै बनेको छ, अंक र आँकडाले हुन्छ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ? भन्नेजस्ता कुरा सुनिन थाल्यो ।’
उनले यस्ता तर्क सुन्दा आफू विस्मित हुने गरेको उल्लेख गर्दै थपे, ‘यस्ता कुरा सुनेर बेलाबेला विस्मित हुने गर्छु । मरूँ कि जस्तो पनि लाग्छ । तर ठीकै छ ।’
प्रधानमन्त्रीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन् । सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ । तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।
प्रधानमन्त्रीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताए । ‘प्रतिदिन करिब छ किमी सडक कालोपत्र भइरहेको छ । सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उनले बताए । सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ । यो चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्री ओलीले बताए ।
देश अब तुइनमुक्त भएको प्रधानमन्त्रीले दाबी गरे । एक सय ३० भन्दा बढी तुइन रहेकोमा अहिले डेढ दर्जन पनि नरहेको र ती तुइन विस्थापित गरी पुल निर्माण कार्य भइरहेको बताए ।
ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेका छन् । ‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले सरकार बनेको पहिलो वर्ष कानुन निर्माणमा ध्यान दिएको बताए । ‘दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएका छौं,’ उनले भने ।
प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेलाका कुरा सम्झिए । ‘कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रून पन पाइँदैन भन्ने थियो। तर वास्तविकता त्यस्तो थिएन,’ उनले भने, ‘लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने होइन ।’
उनले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको भन्दै माइतीघरमा कहिले गुठी विधेयक अवतारमा त कहिले मिडिया विधेयकलाई लिएर चर्चा भएको पनि बताए । उनले गरिबी घटाउन र रोजगारी वृद्धिमा सरकारले काम गरिरहेको बताए। रोजगारीमा एक प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।
ललितानिवास जग्गा प्रकरणमा पूर्वाग्रह राखिएको छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् ।
ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘आयोगले छानविन गरुन्जेल केही मानिसले अधीरतापूर्वक सरकारलाई उत्तेजित पार्ने गरी खोई त कारबाही भनिरह्यो । आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया ड्रागन प्रेमी युवाको जस्तै भयो ।’
प्रधानमन्त्री ओलीले अघि भने, एउटा गीत सम्झिन्छु म, ‘देखाउनेले दाग देखायो, किन रुवाबासी ‘.।’
सरकार कसैप्रति आग्रही वा पूर्वाग्रही नभएको उनले बताए । आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोवडी लगायतका विभिन्न प्रकरणको निश्पक्ष छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।