एनएमबी बैंकमा गाभिने भो सदूरपश्चिमको कञ्चन विकास बैंक |
काठमाडौं । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार यी दुई बैंकबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कञ्चन विकास बैंक गाभिएसँगै एनमबी बैंक सुदूरपश्चिममा समेत बलियो बनेको छ ।
केही समयअघि मात्र एनएमबीले राष्ट्रियस्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार शुभारम्भ गरेको थियो ।
‘क’ वर्गको एनएमबी बैंक लगातार दुईपटक बैंक अफ दि ईयरबाट सम्मानित समेत भइसकेको छ । ‘ख’ वर्गको कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डँडेलधुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरू संचालनमा छन् ।
एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।