नेपाललाई छिट्टै जलमार्गबाट विश्वसँग जोडनेछौ ː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताएका छन । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गरेका हुन । मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो ।
मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।” प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।
चाँडै नै भैरहवा र पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने जानकारी दिँदै उनले यसबाट हवाई सञ्जालमा ‘गेम चेन्जर’ बन्ने बताए । सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो ।
राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उनले बताए । भेरी डाइभर्सन परियोजनामा प्रविधियुक्त उच्चस्तरीय सुरुङमार्ग निर्माण हुनु मुलुकको सामथ्र्यको राम्रो परीक्षण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले विश्व परिवेशमा आफ्नो कुरा व्यक्त गर्ने मञ्चका रुपमा नेपालले चैतमा ‘सगरमाथा संवाद’ राखेको र पहिलो सगरमाथा संवादले समसामयिक मुद्दामा बहस गर्न पहल गर्ने बताएका थिए । उनले भने, “संवादले जलवायु परिवर्तनको असर न्यून गर्न विश्वभरका राजनीतिक नेतृत्व, नीतिनिर्माता, रणनीति निर्माणकर्ता, बौद्धिक वर्ग, सञ्चारकर्मी र अभियन्तालाई एकै थलोमा जम्मा गर्नेछ ।”
नेपालले अन्तर्राष्ट्रिय ऋण बहन गर्न सक्ने अवस्थामा नरहेकाले सहकार्यात्मक ढङ्गले अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो । प्रधानमन्त्री ओलीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अघि सारेको उल्लेख गर्दै समृद्ध समाज भनेको सभ्य र सकारात्मक सोचमार्फत सद्भावपूर्ण र सहअस्तित्वको सुसंस्कृति समाज निर्माण गर्नु हो भने । “विगतमा हाम्रो ध्यान परिणाम र सेवा दिने विषयमा केन्द्रित रह्यो, आर्थिक नीति उत्प्रेरित गर्ने खालको बनाएका छौँ, विगत तीन वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिदर रह्यो, राष्ट्रिय आयको बढ्दो स्तरले पूँजी परिचालनको आधार खडा गरेको छ”, प्रधानमन्त्रीले थथे।