सिसडोलको ल्यान्डफिल साइट आसपासका १० ठाउँ अति प्रभावित, नास्टले बुझायो प्रतिवेदन |
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्यांकनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।
प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र चार स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल साइटको माथिल्लो भाग), सोती बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।
त्यस्तै धादिङ जिल्लाको धुनिबेंसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अति प्रभावित क्षेत्रको सूचीमा राखिएको छ ।
यसैगरी ककनीका आठवटा र धुनिबेंसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेंसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुईवटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्यांकी डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेंसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुईवटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।
विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिलमा व्यवस्थापन हुँदै आएको थियो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएका हुन् ।
वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ ।
’स्थलगतरूपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो,’ डा पन्तले भने ।
अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पुर्याएिको असर, ल्यान्डफिल साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर आदि विषय समेटिएका थिए ।
यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्यान्डफिल साइटको तीन ठाउँबाट माटो, सिसडोलको दुई वटा ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो ।
२४ ठाउँबाट गन्ध मापन गरिएको थियो । अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।
नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा पन्त सदस्यसचिव रहेको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणविज्ञ इञ्जिनीयर सूर्यमान शाक्य र महानगरका इञ्जिनीयर सरकारदीप श्रेष्ठ सदस्य रहेको बताइएको छ।