खान नपाएर मर्न लागेका सिंहको माया लाग्दो तस्बिर चर्चामा |
खारतोम (सुडान) । सुडानको राजधानी खारतोमस्थित एउटा अस्तव्यस्त चिडियाखानामा रहेका सिंहका माया लाग्दा तस्बिरले अहिले निकै चर्चा पाइरहेको छ ।
पुराना, खिया लागेका खोरभित्र देखिएका तीन वटा पोथी सिंह एकदमै दुब्ला र अस्वस्थ छन्। पार्क्भित्र रहेको यो चिडियाघरमा बचेका सबै सिंहको अवस्था यस्तै रहेको टाइम डटकमले लेखेको छ ।
झोलिएको छाला, खप्लक्क निस्किन लागेका जस्ता आँखा, करङ मात्र देखिने यी सिंह दुब्ला तर अलि ठूलो कदका बिराला जस्ता मात्र देखिन्छन् ।
यी तस्बिर सार्वजनिक भएसँगै जनावर अधिकारकर्मीहरूले चिडियाघरमाथि कारवाही हुनुपर्ने माग राख्न थालेका छन् । त्यस्तै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरू र सरोकारवालाहरूको पनि यसमा ध्यान खिचिएको छ ।
संसारभरबाट सुडानको यो चिडियाखानाका सिंहमाथि सहानुभूति प्रकट भए पनि दुई सिंह बचाएर मात्र नपुग्ने स्थानीय अभियन्ता जुहैर अल(सरागले बताएका छन् ।
’यो अपराध हो,’ जुहैरका भनाइ उद्धृत गर्दै टाइमले लेखेको छ, ’कोही न कोही यो अपराधको जिम्मेवार हुनैपर्छ ।’
यो चिडियाघरमा अरू थुप्रै जनावरको अवस्था पनि नाजुक रहेको बताइएको छ। धेरै सिंह र अरू जनावरको खान नपाएरै मृत्यु भएको पनि स्थानीय अभियन्ताहरूले बताएका छन् ।
केहीलाई भने चिडियाखानाबाट निकालिएको पनि छ । सुडानको आर्थिक अवस्थाका कारण चिडियाघरका जनावरको अवस्था बिग्रँदै गएको बताइएको छ ।