सिन्धुको साधारण सभा आह्वान |
काठमाडौं । सिन्धु विकास बैंकले माघ १७ गते दशौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले यसअघि स्थगित भएको साधारण सभा पुनː डाकेको हो ।
बैंकले यसअघि गत पुस २९ गते सो सभा डाकेको छ । तर, गणपुरक संख्या नपुगेका कारण सो सभा स्थगित भएको थियो। बैंकको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १७ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
बैंकको साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो ।
हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।