सानिमा बैंकको नाफा एक अर्ब नाघ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा एक अर्ब नाघेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ५३ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९८ करोड २० लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ८५ लाख बढेर २ अर्ब १६ करोड ७९ लाख पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १३.१२ गुणा कायम रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ । सो अवधिसम्ममा बैंकले ९९ अर्ब ३० करोड निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ ।
दोस्रो त्रैमाससम्ममा ९५ करोड ९ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको यस बैंकको निष्क्रिय कर्जा ०.४१ प्रतिशत रहेको छ भने रिटर्न अन इक्वीटी २०.७५ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ९.२९ प्रतिशत र स्प्रेडदर ४.१७ प्रतिशत रहेको छ ।