आज सोनाम ल्होसार पर्व मनाइँदै, सुँगुर वर्षको बिदाइ र मुसा वर्षको स्वागत |

काठमाडौं । तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष शुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५५ औं वर्ष शुरु हुन्छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।