धादिङमा मिनिट्रक दुर्घटना ː मृत्यु हुनेको संख्या सात पुग्यो | घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं । मंगलबार धादिङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिए ।
‘केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन्’, उनले भने । ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो ।
मृत्यु हुनेहरुमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलवहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र नजबहादुर गुरुङ रहेका छन्। मृतकहरु नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका वासिन्दा हुन् । उक्त ट्रकमा २५ जना थिए ।