निर्यात २७ प्रतिशतले बढ्दा आयात ४.२ प्रतिशतले घटयो, शोधानान्तर स्थिति २३ अर्ब बचतमा |
काठमाडौं । चालु आर्थिक वर्ष २०७६∕७७ को पाँच महिनामा निर्यात बढेर आयात घट्दा शोधानान्तर स्थिति २३ अर्ब रुपैयाँभन्दा धेरैले बचतमा रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजानिक गरेको पाँच महिनाको तथ्याँकमा यस्तो देखिएको हो ।
आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले बढेको छ भने आयात ४.२ प्रतिशतले घटेको छ । यस अवधिमा ४७ अर्ब ६२ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात हुँदा ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
अघिल्लो वर्षको यही अवधिमा निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो भने आयात ३४.२ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।
त्यस्तै वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वे्दिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
यता वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य (मेसिनरी तथा पाटपुर्जा), विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एमएस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानी, कन्चनपुर र रसुवा बाहेकका भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
व्यापार घाटा ६ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्ममा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटेर ५ खर्ब ३३ अर्ब ६४ करोड मा झरेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा चालु खाता घाटा १ अर्ब १९ अर्ब ३३ करोड बाट घटेर ७० अर्ब ३२ करोड कायम भएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा १ अर्ब ४ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ७८ करोड रहेको थियो ।
शेधानान्तर स्थिति २३ अर्ब बचतमा
गत आर्थिक वर्षको पाँच महिनामा ८५ अर्ब ३२ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोहि दोस्रो त्रैमासमम्म आइपुग्दा २३ अर्ब ३० करोडले बचतमा रहेको छ ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनासम्ममा ७५ करोड १ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ ।