खराब कर्जा ०.८३ प्रतिशतले घट्दा कृषि विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो |
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जामा सुधार गर्दै खुद नाफा बढाउन सफल भएको छ । बैंकले गत वर्षको तुलनामा खराब कर्जा अनुपातमा ०.८३ प्रतिशतले घटाएको छ ।
गत वर्षको पौष मसान्त सम्ममा ४.४२ प्रतिशत रहेको खराब कर्जालाई घटाएर ३.५९ प्रतिशतमा झार्न सफल भएको हो । गत वर्ष ४ अर्ब ७१ करोड रुपैया रहेको बैंकको खराब कर्जा घटेर ४ अर्ब २३ करोड रुपैयाँमा झरेको छ ।
त्यस्तै बैंकको खराब कर्जा घट्दा नाफा १६.९९ प्रतिशतले बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो बैंकको कर तिर्नु अघिको नाफा हो ।
यस अवधिमा बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकले निक्षेप १५.४४ प्रतिशत र कर्जा १०.२३ प्रतिशतले बढाएको हो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको पुष मसान्तमा २३ रुपैयाँ ५५ पैसा रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमाआइपुग्दा २८ रुपैयाँ ३७ पैसा पुगेको छ ।
पछिल्ला वर्षहरुमा लाभांश दरलाई लगातार बढाउँदै आएको कृषि विकास बैंकले आगामी वर्षहरुमा पनि उक्त दरलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ ।
५३ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आगामी वर्षहरुमा बैंकको लाभांश बृद्धिदरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका हुन् ।
विगतका वर्षहरुमा औषत १५ प्रतिशत लाभांश वितरण गर्दै आएको बैंकले अघिल्लो आर्थिक वर्षमा २१.०५ प्रतिशत र गत आर्थिक वर्षमा ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आगामी वर्षहरुमा यस दरलाई अझै बढाउने जनाएको छ । कृषि विकास बैंकले गत एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा साढे पाँच अर्बभन्दा धेरै लगानी छ । बैंकले गएको एक वर्षमा २ हजार ५०० भन्दा बढी संख्यामा ५ अर्व ५८ करोड रुपैयाँ लगानी गरेको छ ।
धेरै सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश कृषि मन्त्रालय, ८ जिल्लामा ग्रामीण पद्धति केन्द्र, ७ जिल्लामा हेफर इन्टरनेशलन, किसान महासंघ, युवा परिषद् आदि सँग सहकार्य गरी लक्षित वर्गामा कर्जा विस्तार गर्ने क्रममा रहेको छ ।
त्यसैगरी भ्रमण वर्ष २०२० लाई सफल बजाउन होमस्टे एशोशिएसन नेपालसँग समन्वय गरी सरल रुपमा होमस्टे कर्जा उपलब्ध गराउने कार्यक्रम समेत तय गरेको छ।
बैंकले आगामी दिनहरुमा समेत कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर अघि बढ्ने जनाएको छ ।