निजगढ विमानस्थल, रेल्बे र द्रुतमार्गका लागि बजेट अभाव हुँदैन ː अर्थमन्त्री |

काठमाडौं । निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
बुधबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना शुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरे ।

राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उनको प्रतिबद्धता थियो । उनले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिएका थिए । केन्द्रमा समेत यस आयोजनालाई तीव्रता दिन निरन्तर काम भइरहेको उनले जानकारी दिए ।
द्रुतमार्गमै निजगढ विमानस्थलको गेट जोडिने भएकाले यो आयोजनाले काठमाडौंको हवाई ट्राफिक चाप घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका थिए । देशका लागि महत्त्वपूर्ण आयोजना भएका कारण सबै पक्षले यसमा सहयोग गर्नुपर्ने उनले बताए ।

मंगलबार नै रेल्वे आयोजनाको समेत अनुगमन गरेका उनले रेल छिट्टै सञ्चालनमा आउने आवश्वासन जनकपुरवासीलाई दिएका छन् । रेलका डिब्बा बन्ने क्रममा रहेको भन्दै यस आयोजनाले पनि स्रोतको अभाव भोग्नु नपर्ने उल्लेख गरे ।