काठमाडौं भित्रियो १२ सय टन तरुल, यस्तन छन् तरुल खानुका फाइदा |
काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा काठमाडौंकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा तरुलको कारोबार ह्वात्तै बढेको छ ।
अहिले घर तरुल, बन तरुल, हात्ती पाइले तरुल, सर्लाहीको तरुलसँगै सखरखण्ड तथा पिँडालुको धमाधम बिक्री भइरहेको छ ।
कालिमाटी बजारमा सोमबारसम्म १२ सय टन तरुल भित्रिएको कालीमाटी तरकारी तथा फलफूल बजारका उपनिर्देशक विनय श्रेष्ठले बताए ।
यो गत वर्षको भन्दा बढी हो । गत वर्ष यो सिजनमा एक हजार टन तरुल भित्रिएको थियो । काठमाडौंमा भित्रिने अधिकांश तरुल सर्लाहीबाट आउने गरेको उनले बताए ।
सोमबारसम्म सर्लाहीबाट मात्रै ५ सयभन्दा बढी टन तरुल आएको छ । यो बाहेक धादिङ, चितवन, मकवानपुरबाट समेत तरुल उपत्यकामा भित्रिने गर्दछ ।
तर भारतीय तरुल भने अहिलेसम्म जम्मा ४० टनमात्रै भित्रिएको उनले जानकारी दिए । यस्तै २ सय २८ टन सखरखण्ड काठमाडौं भित्रिएको छ भने १ सय ७२ टन पिँडालु पनि उपत्यका भित्रिएको श्रेष्ठले बताए । यो सबै गत वर्षको तुलनामा बढी हो ।
आयात धेरै भए पनि यो वर्ष तरुलको मूल्य बढेको छ । विनय श्रेष्ठका अनुसार गत वर्ष ५० देखि ५५ रुपैयाँ प्रतिकिलो रहेको सर्लाहीको तरुलको मूल्य यो वर्षका लागि ७० देखि ८० रुपैयाँ निर्धारण गरिएको छ ।
गत वर्ष सय रुपैयाँभन्दा बढी रहेको हात्ती पाइले तरुल यो वर्ष ८० देखि सय रुपैयाँमा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए ।
यस्तै, घर तरुल तथा बन तरुलको मूल्य पनि गत वर्षको तुलनामा कम रहेको श्रेष्ठले जानकारी दिए ।
तरुल खानुका फाइदा
जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानु पर्ने डाक्टर शेरबहादुर पुन बताउँछन् ।
‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने तत्व तरुललगायतका फलमा पाइने हुनाले यो समयमा तरुल खानु आवस्यक छ,’ उनले भने ।
जाडोमा संक्रमण पनि बढी हुने बताउदै भिटामिन, मिनरल्स तथा लवण बढी पाइने तरुलसँगै कन्दमूल तथा सखरखण्ड खानु स्वास्थ्यको लागि राम्रो हुने डाक्टर पुनले बताए ।