सरकार र सहकारी मिलेर अगाडि बढ्छ ː मन्त्री अर्याल |
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताइन । उनले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्ने बताइन । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २७ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै भनिन,‘विकासको बाधक बनेका कानुन राखेर प्रगति हुँदैन । यस बर्ष हामी सहकारी मैत्री कानुन निर्माणका लागि सक्रिय हुनेछौं ।’
उनले सहकारीले उद्यमशिल समाज निर्माणका लागि एदमशिलता र व्यवसायीकतातर्फ अग्रसर हुनुपर्ने धारणा राखेकी छन् । ‘अब आप्mनो विकासले आफै असुरक्षित हुने अवस्थाको अन्त्यका लागि पनि सहकारीले फरक ढंगले विकासको अवधारणालाई अगाडि ल्याउनुपर्छ ।’
उनले सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै एक घर एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने अभियान संचालन गर्नुपर्ने बताइन । सहकारी रोजगारी सिर्जना गर्ने थलो बन्न सक्ने उनको भनाई थियो । गरिवी निवारणको माध्यमका रुपमा सहकारीलाई अगाडि सारेको बताउँदै उनले भनिन, ‘गरिवी निवारणको माध्यमको रुपमा भूमीलाई स्रोत सहकारीलाई माध्यम र गरिवीको अन्त्य लक्ष्य लिएर मन्त्रालय अगाडि बढ्ने उद्देश्य छ ।’
उनले सन् २०३० भित्र नेपालको गरिवी शुन्यमा झार्ने लक्ष्य रहेको बताइन । उनले सहकारीको संख्या घटाउनका लागि मर्जन गर्ने र निस्कृय संघलाई खारेज गर्ने तयारीमा मन्त्रालय रहेको बताइन । अन्तर सहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई महत्व दिइएको बताइन । उहाँले अन्तर सहकारी चेक सटहीको कार्यलाई समेत छिटो निस्कर्षमा पुर्याउने जानकारी दिइन । ‘सहकारीमा लगातार एउटै नेतृत्व रहने विषयलाई पनि निरुत्साहित गर्नुपर्छ । नयाँ नेतृत्वको विकासमा विशेष ध्यान दिनुपर्छ ।’
साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले आर्थिक बर्ष २०७५∕०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारी समाजिक व्यवसाय भएकाले यसको केन्द्रविन्दु सदस्य हुने बताए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा मन्त्री अर्यालले सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनीक गरेकी थिइन । महासंघका अध्यक्ष बडालले सहकारी अभियानको ब्याज सार्वजनिक गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री बालकृष्ण खाँड, सांसद पशुपचि चौलागाई, सल्लाहकार गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, रजिष्ट्रार डा टोकराज पाण्डेलगायतले आफ्नो मन्तव्य राखेका थिए ।
आगामी चार बर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय संचालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समितिको चयन समेत गर्ने छ । निर्वाचन २५ पुसमा हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य तथा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताए ।
त्यसैगरी राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन आउनुभएका पर्वत जिल्ला सहकारी संघका अध्यक्ष महेन्द्रजंग लामिछानेको गोंगबुबाट पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको कार्यलय आउँदै गर्दा असामायीक निधन भएकोमा सभाले श्रद्धाञ्जली व्यक्त गरेको थियो ।