इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना पर्यो |
काठमाडौं । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
फ्लाइट रडारमा युक्रेनको अन्तरराष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।
विमान दुर्घटना भएपछि इरानको आईएसएनए न्युज एजेन्सीले जारी गरेको भिडियोमा एउटा सानो प्रकाश आकाशमा उड्दै गरेको र पछि ठूलो ज्वालामा परिणत भएको देखिएको छ ।
विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन । त्यस्तै, समाचार एजेन्सीले जारी गरेको तस्विरमा विमानको भगनावशेष यत्रतत्र छरिएको देखिएको छ ।
विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।