जेएनयू आक्रमणको विरोधमा काठमाडौंमा भयो प्रदर्शन |
काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा भएको आक्रमणको विरोधमा नेपालमा प्रदर्शन भएको छ । प्रदर्शनमा जवाहरलाल नेहरु विश्व्विद्वालयमा अध्ययनरत विद्यार्थीसमेत सहभागी थिए ।
उनीहरुले आफूहरु जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी सँगै रहेको, फाँसीवाद मुर्दावाद, हिंसाले प्रजातन्त्रलाई गिज्याइरहेको छ, विश्वविद्यालय लडाईंको मैदान होइन आदि नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार राति भएको आक्रमणको नेपालमा विभिन्न विद्यार्थी संगठन र नेताहरुले पनि विरोध जनाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियू जेएनयूको घटनाले भारतको लोकतन्त्रमा कालो पोतिएको भनेर टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससम्बद्ध नेविसंघले प्राज्ञिक थलोमा भएको आक्रमण निन्दनीय भनेको छ ।