राजश्व चुहावट नियन्त्रण गर्ने बारेमा छलफल | निजी क्षेत्रको समस्या समाधान गर्दै अगाडि बढ्ने सरकारी प्रतिबद्धता
काठमाडौं । राजश्व चुहावट नियन्त्रण र उद्योग व्यापारमा देखिएका समस्या समाधान गर्न विराटनगरमा भेला भएका उद्योगीहरुमाझ सरकारी निकायका प्रमुखहरुले एउटै मञ्चबाट सरकार निजी क्षेत्रको समस्या रहेको कानुनी तथा समाधान गर्दै अगाडि बढ्ने सरकारी प्रतिबद्धता जनाएका छन् ।
उद्योगी तथा व्यवसायीहरुले राजश्व उठाउने निकायहरुबीचको समन्वय र भुमिका महत्वपूर्ण हुँदा मात्र ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सकिने बताएका थिए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आन्तरिक राजश्व, भन्सार, राजश्व विभाग प्रत्यक्ष उद्योग(व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग∕व्यवसाय क्षेत्रको समस्या समाधानमा यी तीन निकायको महत्वपूर्ण भूमिका हुने बताए ।
घिमिरेले राजश्व चुहावट नियन्त्रण गर्न ऐन, नीति नियम कार्यान्वयनमा देखिएका जटिलतालाई सहज बनाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग÷व्यवसाय क्षेत्रका समस्या प्रस्तुत गर्दै उद्योग र व्यापार–व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न कानूनी अस्पष्टता रहेको बताए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले व्यवसायीले भोग्नुपरेको समस्या समाधानमा आन्तरिक राजश्व विभागले सदैव सहयोग पुर्याउने बताए । उनले औद्योगिक क्षेत्रको उत्पादन वृद्धि भई व्यापारमा सन्तुलन ल्याउनका साथै मुलुकलाई समृद्ध बनाउने निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । निर्देशक कुँवरले निजी क्षेत्रको विकासका लागि नीतिमा देखिएका अप्ठ्यारालाई क्रमशː सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगी–व्यवसायीबाट प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले बदलिँदो नीति नियममा शुरुवाती चरणमा अप्ठ्याराहरु देखिएको भए पनि यसलाई क्रमशः सुधार गरिँदै लगिएको जानकारी दिए ।
भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्दै समृद्ध राष्ट्र बनाउन सरकारसँगै निजी क्षेत्रसमेत बलियो हुनुपर्ने धारणा राखे ।
राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग, भन्सार विभाग, उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घबीच शनिबार छलफल सम्पन्न भएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, कार्यकारिणी समिति सदस्य, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधि, राजश्व अनुसन्धान कार्यालय इटहरी, भन्सार कार्यालय विराटनगर, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख तथा उद्योगी व्यावसायीको सहभागिता थियो ।