त्रिवि रजिष्ट्रारमा पेशल दाहाल नियुक्त |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले पुस ११ गतेदेखि लागू हुने गरी दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
दाहालले शुक्रबार नै कार्यभार सम्हालेका छन् । त्रिवि रजिष्ट्रार डिल्लीराज उप्रेतीको कार्यकाल सकिएपछि रिक्त पदमा दाहाललाई नियुक्त गरिएको हो ।
सत्तारूढ नेकपा निकटका दाहाल तेह्रथुमका हुन्। उनलाई चार वर्षका लागि रजिष्ट्रारमा नियुक्त गरिएको हो। दाहाल यसअघि त्रिवि सेवा आयोगका सदस्य भइसकेका थिए ।
रजिष्ट्रारका लागि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र त्रिवि उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम पनि सिफारिस गरिएको थियो ।
शिक्षाध्यक्ष सुधा त्रिपाठीको पनि गत पुस ८ गते चार वर्षे कार्यकाल सकिए पनि नयाँ शिक्षाध्यक्ष नियुक्त गरिएको छैन। उपकुलपति तीर्थ खनियाको गत भदौ ६ गते कार्यकाल सकिएपछि दुई महिना शिक्षाध्यक्ष त्रिपाठीले कामु उपकुलपतिको जिम्मेवारी सम्हालेकी थिइन्।