काठमाडौंमा प्रहरीको सर्च अपरेशन ː एकैदिन १२२ चिनियाँ नागरिक पक्राउ |

काठमाडौं । चिनियाँ नागरिकहरु अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले सोमबार काठमाडौंमा ‘सर्च एण्ड एरेष्ट’ अपरेशन चलाएको छ । त्यसक्रममा एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आईटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ ।
उनीहरु ब्यारेक सिस्टममा बसेर काम गरेको भेटिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । उनले भने, ‘एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको छ ।’
उनका अनुसार प्रहरीले ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरेको छ । त्यसको वैज्ञानिक परीक्षण हुन बाँकी छ । पक्राउ परेकाहरुलाई काठमाडौं प्रहरी मातहतको विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले बताए ।