सिरहाको खैरबोनामा मिथिला लघुवित्तको नयाँ शाखा |

धनुषा । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको सखुवानन्कारकट्टी गा.पा. –४, खैरबोनामा नयाँ शाखा संचालनमा ल्याएको छ । पौष ५ गते शनिवार आयोजित समुद्घाटन कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साह र प्रमुख अतिथि सखुवानन्कारकट्टी गा.पा. अध्यक्ष केदारनाथ यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
विभागिय प्रमुख रेशम वास्तोलाद्वारा सञ्चालित उद्घाटन कार्यक्रममा वित्तीय संस्थाका संचालक, प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख, स्थानिय जनप्रतिनिधि, समाजसेवी लगाएत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिती रहेको थियो ।
समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि यादवले वित्तीय संस्थामा आवद्ध हुने ब्यक्तिको आर्थिक अवस्था अबस्य समृद्ध हुने भएकाले सबैले वित्तीय संस्थाबाट सेवा लिई कुनै न कुनै प्रकारका ब्यवसाय गरि आर्थिक उन्नती गर्नु पर्ने र वित्तीय संस्थाले सहरमुखि नभई गाउँ गाउँमा शाखा स्थापना गरि गरिब विपन्नलाई सेवा पुर्याएको हुंँदा संस्थालाई धन्यावाद सहित उत्तरोत्तर प्रगतिको सुभकामना दिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदैे वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्न उद्धेश्यले शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि गरिव तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताएका थिए । संस्थाको यो नयाँ शाखा सहित ३२ शाखा सञ्चालनमा आएका छन ।