प्राइम कमर्सियल बैंकले कैलाशलाई एक्वायर गर्न बोलायो साधारण सभा |
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंकलाई प्राप्त गर्ने र लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित पुस २५ गते साधारण सभा बोलाएको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बिहान १० बजेदेखि शुरु हुनेछ ।
सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ । पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।
बैंकले कन्काई विकास बैंकलाई प्राप्ती गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो ।