प्रदेश ५ को नाम ’लुम्बिनी’ | रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस

काठमाडौं । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ । राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएको जिम्मेवारी पूरा गरेको छ ।
पटकपटक विवाद र आलोचना खेप्दै आएको समितिले अन्ततः प्रदेशको नाम ’लुम्बिनी’ राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी गरेको छ । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुईतिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।
संसदीय विशेष समितिका एक सदस्यका अनुसार प्रदेशको राजधानी भने मध्यमार्गी बाटो अपनाउँदै तोकिएको छ । हामीले विवाद नआओस् भन्ने हिसाबले मध्यमार्गी बाटो अपनाएका छौं,’ उनले भने ।
समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको भावनाअनुरुप प्रदेशको राजधानी कपिलवस्तु हुनसक्ने उनले संकेत गरे । नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेश सभा बैठकले २०७५ साउनमा सांसद दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो। पहिलोपटक तीन महिनाको समयसीमा दिइएको उक्त समितिले पहिलो तीन महिना बैठक नै बस्न नसकी म्याद गुजारेको थियो ।
समितिले पहिलो कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि पुनː म्याद थप गरिएको थियो ।