धनुषामा बम विस्फोट गराएको आशंका तीन जना पक्राउ |
काठमाडौं । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा १ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
विस्फोटमा घाइते बनेका प्रहरी निरीक्षक अमिर कुमार दाहालको उपचारका क्रममा निधन भएको थियो ।
साहको घरबाहिर पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएको प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीले उपस्थित भीड हटाउदै गर्दा विष्फोट भएको बताइएको छ ।