हिमपातले गर्दा हिमाली भेगको हवाई सेवा अवरुद्ध |

काठमाडौं । उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध भएको छ । पश्चिम नेपालका हिमाली भेगका विमानस्थलमा नेपालगञ्ज हव बनाएर उडान हुने गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार बिहान डोल्पामा समिट एयरको जहाज पुगेको थियो ।
त्यो जहाज नेपालगञ्ज फर्कन सकेको छैन । सिमिकोट र रारामा बिहीबारदेखि नै हवाई सेवा अवरुद्ध भएको छ । ‘हिमाली भेगमा हिमपात र हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘मौसम खुल्नासाथ सेवा पुनː सञ्चालनमा आउँछ ।’
नेपालगञ्ज तथा धनगढीमा काठमाडौंबाट हुने उडान भने नियमित भइरहेका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट हुने उडान–अवतरण भने पूर्ववत सञ्चालनमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।