२ वर्ष नेपालको वृद्धिदर ६ प्रतिशतमाथि ː विश्व बैंक | तथ्याङ्कको उपलब्धता र त्यसको सहज पहुँचमा सरोकारवालाको जोड
काठमाडौं । दीगो आर्थिक विकासका लागि पर्याप्त तथ्याङ्क(डेटा)को उपलब्धता र त्यसको सहज पहुँचमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार विश्व बैङ्कले तयार गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’को सार्वजनिक कार्यक्रमका सहभागीले डेटाको सही आर्थिक प्रयोगबाट आर्थिक विकासका लागि उपयुक्त रणनीति तय गर्न सहयोग पुर्याउने धारणा राखेका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अझै पनि पर्याप्त डेटाको अभाव रहेको बताए। विकास प्रक्रियाका लागि डेटा अति महत्वपूर्ण हुने भएपनि नेपालमाअझै परम्परागत किसिमबाटै तथ्य सङ्कलन हुने गरेको उहाँको भनाई थियो । नेपालमा डेटा सङ्कलनमा बढी प्रचलनमा रहेको ‘स्याम्पल सर्भे’ विधि पनि बढी अनुमानमा आधारित रहेको उनले जानकारी दिए । कार्यक्रममा उहाँले डेटा सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘तथ्याङ्क सम्बन्धि ऐन’ निर्माणका लागि मन्त्रिपरिषदले स्विकृति दिएको र छिटै संसदमा दर्ता हुने बताए ।
अर्थमन्त्री खतिवडाले नेपालका आर्थिक विकास सम्बन्धि सूचकहरु राम्रो रहेकोले सन्तुष्ट हुने ठाउँ भएको बताए । विश्वभर नै व्यापार र लगानीको प्रवृत्ति घट्दो क्रममा रहेपनि नेपालको आर्थिक वृद्धि पनि निरन्तर बढ्दो क्रममा रहेको उहाँको भनाई थियो । त्यस्तै उहाँले चालु आर्थिक बर्षमा सरकारले तय गरेको ८.१ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यमा कुनै संसोधन नगरेको प्रष्ट पारे । ‘अहिलेसम्म लक्ष्यमा कुनै संसोधन गरेका छैनौं, भ्रममा नपर्नुहोला’ उनले भने । नेपालको चालु खाता पनि तुलनात्मक रुपमा राम्रै अवस्थामा रहेकोले यसबारे पछिल्लो जानकारी प्रतिवेदनमा समेट्न पनि उनले आग्रह गरे । सरकारले अहिले कुल गार्हस्थ्य उत्पादनका लागि आधार बर्ष मानेको सन् २०००÷२००१ लाई परिवर्तन गरेर आव सन् २००९÷१० पुर्याउने तयारी गरेको उहाँले जानकारी दिए ।
विश्व बैङ्कका नेपालका लागि देशीय निर्देशक फेरिस हदाद जेर्भोसले सरकारको समग्र कार्यक्षमता बढाउन पनि डेटाको प्रयोग जरुरी रहेको बताए । सङ्घीय संरचनाको प्रभाव मुल्याङ्कनका लागि नेपाललाई बिग डेटा आवश्यक पर्ने उनकोे सुझाव थियो ।
नेपाल डेभलपमेन्ट अपडेटसम्बन्धि प्रस्तुतिमा विश्व बैङ्क नेपालका वरिष्ठ अर्थशास्त्री केन एज्मेनारीले पछिल्लो समय आयात घट्दो र निर्यात बढ्दो प्रवृत्ति नेपालको व्यापारमा देखापरे पनि व्यापार घाटाको स्थितिमा खास परिवर्तन नभएको बताए । बर्षमा दुई पटक सार्वजनिक गरिने यस्तो अपडेटको सन् २०१९ को डिसेम्बर संस्करणले यस बर्ष नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको उनले जानकारी दिए । त्यस्तै सन् २०२०मा यस्तो वृद्धिदर ६.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको उनले बताए ।
कार्यक्रममा राखिएको छलफल सत्रमा वक्ताहरुले नेपालमा पर्याप्त डेटा नरहेको र भएका डेटाको वितरण पनि हुन नसकेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुुयाँलले नेपालमा परम्परागत र आधुनिक विधिबाट डेटा लिने गरिएको जानकारी दिए । मन्त्रालयस्तरबाट सार्वजनिक हुने डेटा आधुनिक किसिमको रहेको र त्यसमा समय अनुसार परिमार्जन पनि हुँदै गएको उनको भनाई थियो । त्यस्तै उनले कुल उपलब्ध डेटामध्ये ५० प्रतिशतमा मात्र सहज पहुँच रहेको जानकारी दिए । राष्ट्रिय सूचना आयोगका सदस्य यशोदा तिम्सिनाले नेपालमा डेटाको वितरणमा समस्या रहेको भनाई राखे । व्यवसायी मङ्गेशलाल श्रेष्ठले लगानी अघि डेटाको विश्लेषण हुने भएकोले सहज तरिकाले उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताए । प्mयूज मेसिनका सुमना श्रेष्ठले पर्याप्त पूर्वाधार र संरचनागत अभावले गर्दा डेटाको अभाव रहेको बताए ।